
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच बुधबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
००००
एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीबारे संसद्का दुई समितिले चासो देखाएको छन् । सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधवार चासो देखाएका हुन् ।
लेखा समितिले ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न सरकारलाई बुधवार निर्देशन दिएको हो ।
त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
यस्तै बुधवार नै अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाउँदा देश कंगाल बन्न लागेको आरोप लगाएका छन् । देशको भविष्य बनाउनको लागि २०८४ मा एमालेलाई एकल बहुमत दिन अपिल समेत गरेका छन् ।
००००
नेपाल वायु सेवा निगमले राष्ट्रिय सुरक्षाका कारण पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा सरकारी स्वामित्वको संस्थानले नै पाउनु पर्ने बताएको छ ।
उपकरणमा गरिएको अरबौं रुपैयाँ लगानीको सुनिश्चितता र व्यावसायिक दक्षताका कारण ग्राउण्ड ह्याण्डलिङ आफैले पाउनु पर्ने निगमको भनाइ छ ।
००००
सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधवार श्रीमान् मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो ।
००००
मधेस प्रदेशसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संविधानको अनुसूचीमा रहेका अधिकार सङ्घीय सरकारबाट प्राप्तिका लागि यथाशीघ्र पहल गर्न निर्देशन दिइयोस् भनेर पेश भएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
००००
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयको एक र स्वास्थ्य मन्त्रालयको चार गरी पाँच जना दशौँ तहका अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।
००००
काठमाडौंको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार राति पक्राउ गरी गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो । पक्राउ परेका व्यक्ति हुण्डी कारोबारी पनि रहेको खुलेको छ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो ।
००००
नेपालीलाई अवैध रूपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
००००
नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा उच्च अदालत पाटनमा मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईका अनुसार २८ गते एकल इजलासमा पेसी तोकिने भएको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि आन्दोलन गर्नेबारे छलफल शुरू गरेको छ । बुधवार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दूराष्ट्रको पुनस्र्थापनालगायत विभिन्न ७ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गरेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा राखे ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ । मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन् ।