काठमाडौं, १३ असोज– संयुक्त राज्य अमेरिका लगायत विश्वका ठूला अर्थतन्त्र भएका प्राय देशबाट आर्थिक नाकाबन्दी खेपीरहेको उत्तर कोरियालाई अब चीनले पनि सहयोग नगर्ने संकेत गरेको छ ।
उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्धहरु लाइरहेका बेला चीनले पनि उत्तर कोरिया‘विरुद्ध’ एक ‘ठूलो’ कदम चालेको छ । चीनले आफ्नो भूभागमा संचालित रहेका उत्तर कोरियाली कम्पनीहरु आगामी जनवरी महिनाभित्र बन्द गरिने बताएको छ ।
पारमाणविक अस्त्र विकास गरेको भन्दै उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको छ र बेइजिङको यस्तो कदम त्यसै अनुरुप आएको हो ।
चीनको वाणिज्य मन्त्रालयले संयुक्त रुपमा सञ्चालित उत्तर कोरिया र चीनका कम्पनीहरुसमेत बन्द गरिने बताएको छ ।
चीनले उत्तर कोरियाली व्यापारको ठूलो हिस्सा चीनले ओगट्छ । अब उत्तर कोरियाली कम्पनी बन्द गर्ने चीनको पछिल्लो कदमका कारण प्योङ्गयाङ्गले थप आर्थिक कठिनाईहरुको सामना गर्नुपर्ने देखिन्छ ।
यसअघि प्योंगयांगको मुख्य साझेदार रहेको चीनले उत्तर कोरियाबाट गरिने कोइला, समुद्री खानेकुरा र कपडाको आयातहरुमा प्रतिबन्ध लगाएको थियो ।
साथै तेल आयातमा पनि कटौती गरिएको छ ।
सेप्टेम्बर ११ मा बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले उत्तर कोरियाले गरेको छैठौँ र सबभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षणका लागि सर्वसम्मतिका साथ थप प्रतिबन्धहरु लगाएको थियो । चीन पनि सुरक्षा परिषद्को स्थायी सदस्य हो ।
अघिल्लो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्दै सो सम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
उत्तर कोरियाले गरेका क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिका र अन्य देशहरुबाट आउने दबाबबाट उत्तरलाई जोगाइरहेको आरोपहरु चीनमाथि बारम्बार लाग्दै आएको छ ।
यसैबीच बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लु कांगले कोरियाली प्रायद्वीपमा हुने कुनै पनि किसिमको युद्भको विरोध गर्ने बताएका थिए ।
बीबीसीको सहयोगमा