
काठमाडौं, १३ असोज — विजयादशमीका दिन देवीको प्रसादस्वरूप ठूलाबडाबाट टीका र जमरा लिने प्रचलन छ । किन ठूलाबडाको हातबाट टीका जमरा लिइन्छ त ? आउनुस्, यसपछाडिका कारणहरू खोतलौं ।

टीका जमरा लगाइदिँदा ठूलाबडाले सानालाई आशीर्वाद दिन्छन् । आशीर्वाद प्राप्त गर्नु भनेको परम सौभाग्य र विजयको सूचक हो । आफूले सम्मान गर्ने मातापिता, गुरुजन र अग्रजबाट आशीर्वाद लिँदा मनुष्यको आत्मबल बढ्छ र उसले एकप्रकारको शक्तिको अनुभव गर्छ । त्यसैले प्रत्येक शुभअवसर तथा पर्वमा ठूलाबडाको आशीर्वाद लिने चलन छ ।
ठूलाबडाप्रति सम्मान प्रकट गर्दा मनुष्यको श्रेष्ठत्व झल्किन्छ । यसबाट उसमा उच्च भावनाको पनि लाभ प्राप्त हुन्छ । शुद्ध मनले गरिएको सम्मानबाट आन्तरिक शक्ति र ऊर्जाहरू जाग्छन् । त्यसैले श्रेष्ठ तथा आदर्श व्यक्तित्वहरूले सधैं ठूलाबडाको सम्मान गर्ने गरेका छन् ।
अनावश्यक अभिमान गर्नु पतनको बाटोमा लाग्नु हो । त्यसैले विनम्र भएर ठूलाबडाको सम्मान गर्नुपर्दछ । सम्मानले प्रत्येक व्यक्तिलाई आध्यात्मिक तृप्ति प्राप्त हुन्छ ।
ठूलाबडाले आशीर्वादको मनले हाम्रो शिरको माथिल्लो भागलाई छुनुहुँदा अनि हामीले उहाँहरूलाई अभिवादन तथा चरणस्पर्श गर्दा उहाँहरूको सकारात्मक ऊर्जा हामीमा सर्छ ।
मान्यजनबाट टीका लगाउँदा मनुष्यमा आत्मबल र जोश उत्पन्न हुन्छ । यसरी टीका लगाउँदा सौभाग्यको वृद्धि हुन्छ ।
दशैंमा दही र अबिरमा अक्षता मुछेर लगाउने गरिन्छ । अक्षता भन्नाले नटुक्रिएको चामल हो । नटुक्रिएको चामलले पूर्ण र सुखी जीवनलाई प्रतीक बनाउँछ । त्यस्तै रातो रंग विजयको रंग हो । देवी माताले महिषासुर दैत्यलाई अनि भगवान् रामले रावणलाई पराजित गरेको मान्यता स्वरूप विजयको रातो रंग लगाइएको हो । रातो रंगको तेजलाई निधारमा राख्न साधारण मनुष्यलाई गाह्रो पर्ने भएकाले त्यसमा दही मिसाएर शीतल बनाइन्छ । यसरी अक्षता, अबिर र दहीको मिश्रणले टीका बन्छ ।
टीका लगाइदिँदा हत्केला गहिरो पारेर लगाउनुपर्छ । हातको पछाडिको भाग माथि उठाएर टीका लगाउनु राम्रो मानिँदैन । यसको पछाडिको कारण भनेको टीका लगाइदिनु यज्ञमा चरु होम्नु जस्तै हो । चरु होम्दा जसरी हत्केला खाल्डो बनाएर औंलाले चरु च्यापेर होमिन्छ, त्यसरी नै टीकालाई औंलाले च्यापेर लगाइदिनुपर्छ ।
मान्यजनको हातबाट टीका तथा जमरा लगाउन पाउनु अहोभाग्यको कुरा हो ।