१६ असार २०८३, मंगलबार

कहाँबाट चुनाव लड्दैछन् एमालेका शीर्ष नेता ?

कात्तिक २०, २०७४
कहाँबाट चुनाव लड्दैछन् एमालेका शीर्ष नेता ?
काठमाडौं १३ असोज– मंसिर १० र २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि दलहरुले उम्मेदवार छनौटनको गृहकार्य शुरु गरेका छन् । दशैं लगत्तै दलहरुले उम्मेदवार चयनलाई अन्तिमरुप दिने बताएका छन् ।

स्थानीय तहको चुनावमा पहिलो दल बनेको नेकपा एमालेले असोज २३ गतेसम्म सम्भावित उम्मेदवारको नाम सिफारिश गर्न मातहतका कमिटिहरुलाई निर्देशन दिएको छ ।

को कहाँबाट उम्मेदवार बन्ने तयारी ?

अध्यक्ष केपी ओली लगायत शीर्ष नेताहरु यसअघि चुनाव जितेको क्षेत्रमै जाने तरखरमा छन् । ओली गृहजिल्ला झापाबाटै चुनाव लड्दै आएका छन् । यसअघि झापा ७ बाट विजयी अध्यक्ष ओली झापा ५ बाट चुनाव लड्ने तयारीमा छन् । उनी भक्तपुर २ बाट समेत चुनाव लड्न सक्ने सम्भावना छ । ओलीले मतदाता नामावली भक्तपुरमा सारेका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं २ या रौतहट १ बाट चुनाव लड्ने तयारीमा छन् । गत संविधानसभा चुनावमा काठमाडौं र रौतहटबाट चुनाव लडेका नेता नेपालले उपनिर्वाचनमा काठमाडौं छाडेका थिए । स्थानीय तहको निर्वाचनमा गृहजिल्ला रौतहटका कुनै पनि तहमा एमालेले नजितेपछि नेता नेताव तनावमा परेका छन् । उनी अब काठमाडौं क्षेत्र नम्बर दुईबाट उम्मेदवार बन्ने बलियो सम्भावना रहेको छ ।

अर्का बरिष्ठ नेता झलनाथ खलान गृहजिल्ला इलाम १ बाट चुनाव लड्ने तयारीमा छन् । संविधानसभाका दुईवटै चुनावमा उनी इलामबाट विजयी भएका थिए ।

संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङ पनि गृहजिल्ला इलामबाटै चुनाव लड्ने तयारीमा छन् । उनीपनि संविधान सभाका दुइवटै चुनावमा इलामबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्ष बामदेव गौतमले बर्दिया १ बाट चुनाव लड्ने तयारी गरेका छन् । गत संविधानसभा चुनावमा उनी बर्दिया र प्युठानबाट चुनाव जितेका थिए ।

अर्का उपाध्यक्ष भीम रावल अछामबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी गत संविधानसभामा अछाम १ बाट निर्वाचित भएका थिए ।

उपाध्यक्ष युवराज ज्ञवाली दाङबाट चुनाव लड्ने तयारीमा छन भने अर्की उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको उम्मेदवार बन्ने चर्चाका कारण काठमाडौंबाट प्रदेश सभाका लागि चुनाव लड्ने सम्भावना रहेको एमाले स्रोत बताउँछ।

महासचिव इश्वर पोखरेल भने काठमाडौं ५ बाटै चुनाव लड्ने भएका छन् । संविधान सभाका दुईवटै चुनावमा उनी सोही क्षेत्रबाट पराजीत भएका थिए । सो क्षेत्रबाट नरहरि आचार्य विजयी भएका थिए ।

उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल रुपन्देहीबाट चुनाव लड्ने तयारीमा छन् । संविधानसभाका दुईवटै चुनावका प्रत्यक्ष निर्वाचित पौडेलले गत चुनावमा तत्कालिन माओवादी नेता बाबुराम भट्टराइलाई पराजीत गरेका थिए । भुषाल भने कांग्रेसका बालकृष्ण खाणसँग झिनो मतले पराजीत भएका थिए ।

सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गृहजिल्ला गुल्मीबाट चुनाव लड्ने योजनामा छन् । ज्ञवाली एक र विष्ट २ बाट चुनाव लड्ने तयारीमा छन् । विष्ट प्रदेश नम्बर ५ बाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने पनि चर्चा छ ।

अर्का सचिव योगेश भट्टराई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको उम्मेदवार बन्ने चर्चा छ । यसअघि काठमाडौं ६ बाट चुनाव लड्दै आएका भट्टराइले आफ्नो मतदाता नामावली यसपटक गृहजिल्ला ताप्लेजुङमा सारेसँगै उनी ताप्लेजुङबाट चुनाव लड्ने तयारीमा रहेको एमाले श्रोत बताउँछ ।

अर्का सचिव भीम आचार्य सुनसरीबाट चुनाव लड्ने तयारीमा छन् । उनी संविधान सभाका दुईवटै चुनावमा सुनसरीबाट विजयी भएका थिए । सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङबाट चुनाव लड्ने तयारीमा छन् ।

स्थायी समिति सदस्य शंकर पोखरेल दाङबाट चुनाव लड्ने तयारीमा छन् भने अर्का सदस्य सुरेन्द्र पाण्डे चितवनबाट चुनाव लड्ने तयारीमा छन् । नेता राजेन्द्र पाण्डे धादिङाट चुनाव लड्दै छन् ।

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका युवा नेता रवीन्द्र अधिकारी मुख्यमन्त्रीको उम्मेदवार नबनेमा कास्की २ बाट चुनाव लड्ने तयारीमा छन् । संविधान सभाका दुइवटै चुनावमा प्रत्यक्ष निर्वाचित अधिकारीलाई प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको लोकप्रिय उम्मेदवारको रुपमा हेरिएको छ ।

एमालेले ७ मध्ये दुई प्रदेशमा मुख्यमन्त्री र उपमुख्यमन्त्रीको रुपमा महिलालाई अगाडी सार्ने तयारी गरेको छ । महिला नेतृ शान्ता चौधरी प्रदेश नम्बर ५ बाट मुख्यमन्त्री या उपमुख्यमन्त्रीको रुपमा अगाडी सारिने सम्भावना छ । प्रदेशमा सम्माजनक स्थान पाए उनी प्रदेशका लागि चुनाव लड्ने छिन् । यद्यपी उनलाई समानुपातिकबाट सांसद बनाउने सम्भावना रहेको एमाले स्रोत बताउँछ ।

युवा नेत्री रामकुमारी झाक्री गुल्मीबाट चुनाव लड्ने तयारीमा छिन् । गोकर्ण विष्ट मुख्यमन्त्रीको उम्मेदवार भएमा झाक्रीले गुल्मी २ बाट टिकट पाउने सम्भावना छ । अन्यथा उनले प्रदेश सभाका लागि चुनाव लड्ने सम्भावना छ ।

पूर्व सामान्य प्रशासन मन्त्री लालबावु पण्डित मोरङबाट चुनाव लड्ने तरखरमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्