
टर्कीको 'सुपर लिग' फुटबल प्रतियोगितामा खेल सञ्चालन गरिरहेका रेफ्रीमाथि हातपात भएको छ । एउटा खेल सञ्चालन गरिरहेका रेफ्री हालिल उमोद मेल्यारमाथि एउटा क्लबका अध्यक्षले मुक्का प्रहार गरेपछि देशभरिका सबै लिगहरू निलम्बनमा परेका हुन्।
'सबै लिगहरूका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ,' टर्कीको फुटबल संघ टीएफएफका अध्यक्ष मेहमत बुयुकेच्चले भनेका छन् । उनले रेफ्रीमाथि भएको आक्रमणलाई टर्कीको फुटबलमा लाजमर्दो रातको सङ्ज्ञा दिएका छन्।
आफ्नो क्लबले ९७औँ मिनेटमा गोल खाएर खेल १-१ को स्थितिमा पुगेपछि 'एमकेई आङ्कारागुजु'का अध्यक्ष फारुक कोजाले दौडिँदै मैदानमा छिरेर रेफ्रीमाथि आक्रमण गरेका थिए।

आक्रमणपछि भुइँमा लडेका रेफ्री मेल्यारलाई अरू व्यक्तिले पनि कुटपिट गरेका थिए । उनी घाइते भएका छन् र उनको एउटा हड्डी पनि भाँचिएको छ। उनलाई पनि अस्पताल लगिएको छ।