
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन सरकार धेरै समय नटिक्ने ठोकुवा गरेका छन् ।
पार्टीको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्राका क्रममा बुधवार भोजपुरमा भएको कार्यकर्ता भेटघाटमा उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार नटिक्ने ठोकुवा गरेका हुन् ।
‘यो सरकार धेरै समय टिक्नेवाला छैन । सरकार कथम कदाचित टिके देशलाई दुर्भाग्य हुन्छ,’ उनले भने, ‘यो सरकार कुहिएको फलजस्तो भएको छ । यसलाई कसैले झारेन भने पनि आफैँ झर्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागिपरेको आरोप लगाए । उनले एमालेलाई सिध्याउँछु भन्ने सपना भङ्ग गर्नसमेत विपक्षीहरूलाई आग्रह गरे ।
एमालेसँग एक्लै लड्ने आँट र अवस्थामा अन्य दलहरू नरहेको ओलीले दाबी गरे ।
‘एमालेसँग एक्लै लड्न नसक्ने भएपछि कसैले दाहिने हात, कसैले देब्रे हात, कसैले जिउ र केहिले कम्मरमा समाएर पछार्न खोजेका छन्,’ उनले थपे, ‘एमालेलाई सिध्याउँछु भनेर हातको छेउमा आए मुक्का खान्छन्, खुट्टाको छेउमा आए कच्याककुच्चुक हुन्छन् । एमालेले यस्तै सामथ्र्य कायम राख्नुपर्छ ।’
मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै संकटमा पर्ने ओलीको भनाइ थियो ।
मंसिर १४ गते सुदूरपश्चिमको बैतडीबाट शुरू भएको एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा बुधवार भोजपुर पुगेको हो ।