
काठमाडौं महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ ।
महानगरले यसअघि नै जारी गरेको सूचनाअनुसार आजदेखि प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध भएको छ ।
सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको महानगरको भनाइ छ ।
सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानून अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ ।
महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो ।
महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ ।
अटेर गर्नेलाई कारबाही गरिने काठमाडौं महानगरले जनाएको छ ।