१० साउन २०८३, आइतबार

तनाबपूर्ण खेलमा इलाम पराजित, वीरगञ्जको पहिलो जीत

मंसिर २७, २०८०
काठमाडौं
तनाबपूर्ण खेलमा इलाम पराजित, वीरगञ्जको पहिलो जीत
तस्वीर स्रोतः एनएसएल ।

वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पहिलो जीत हासिल गरेको छ । विलियम ओपकु ऐसेडोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि वीरगञ्जले पहिलो जीत निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरग रंगशालामा बुधवार भएको खेलमा वीरगञ्जले स्पोर्टिङ इलाममाथि २–१ गोल अन्तरको पुनारागमन जीत हासिल गरेको हो । 

खेलको १५ औं मिनेटमा आशिष चापागाईंको गोलमार्फत इलामले अग्रता लिएको थियो । 

३३ औं मिनेटमा बिसोन गुरुङले गोल गर्दै वीरगञ्जलाई बराबरीमा ल्याए । 

इन्जुरी समयमा इलामका आशिष गुरुङले वैकल्पिक खेलाडी सुनिल खड्कालाई बक्सभित्र फउल गरेपछि वीरगञ्जले पेनाल्टी प्राप्त गरेको थियो । प्राप्त पेनाल्टी अवसरमा ऐसेडोले कुनै पनि गल्ती गरेनन् ।

तर पेनाल्टी निर्णयप्रति असन्तुष्ट जनाउँदै इलामका खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका थिए ।

रेफ्रीले खेल सकिएको सिठ्ठी फुके लगत्तै इलामका कप्तान तथा गोलकिपर विकेश कुथू रेफ्री कबिन व्यञ्जनकारसँग विवाद गर्दै अघि बढेका हुन् । दोहोरो पहेँलो कार्ड पाएपछि उनले रेफ्रीमाथि हातपात नै गरे । 

पुछारमा रहेको वीरगञ्ज अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । वीरगञ्जले पाँच खेलबाट पाँच अंक नै जोडेको छ । हारसँगै इलाम तालिकाको पुछारमा झरेको छ । उसको ६ खेलबाट मात्र चार अंक छ । हारले इलामको शीर्ष चारमा पर्ने सम्भावना न्युन भएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्