
काठमाडौं मलअगाडि माइक्रो बसले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ । उनी बोल्नसक्ने अवस्थामै रहेको एक ट्राफिक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार ३ जनाको अवस्था भने सामान्य छ ।
बुधवार करिब साढे ६ बजे बौद्ध-जोरपाटी रुटमा चल्ने माइक्रो बस अनियन्त्रित भएको र त्यसको ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु तथा पैदलयात्री घाइते भएको बताइएको छ ।
जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको माइक्रो बसले ठक्कर दिएको हो ।
दुर्घटनालगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
उनीहरूको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।
यस्तै उक्त अनियन्त्रित माइक्रो बसले अर्को बसको पछाडिको भागमा पनि ठक्कर दिएको बताइएको छ ।
माइक्रो बस र त्यसमा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।