
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेस नै वर्तमान सरकारसँग आजित भइसकेको दाबी गरेका छन् । कुहिएको फलझैँ सरकार आफैँ झर्ने अवस्थामा पुगेको टिप्पणी उनले गरे ।
झुलाघाट–चिवाभञ्ज्याङ यात्राको १५औं दिन भोजपुरको पौवादुङ्मामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसका नेताहरू अहिलेको सरकारबाट आजित भएको बताएका हुन् ।
‘देश ओरालो लागिरहेको छ, कांग्रेसकै नेताहरूले भन्न थालिसकेका छन्, २०८४ सम्म पर्खिन सकिँदैन । यो सरकारसँग आजित भएका छन्, अर्थतन्त्र बिग्रिएको र जनताले दुःख पाएको देखेर,’ ओलीले भने, ‘आफ्नै अयोग्यताले टिक्न सक्ने अवस्था छैन, कुहिएको फलजस्तै झर्ने अवस्थामा पुगेको छ ।’
‘थैलो भर्ने नेता होइन, विकासप्रेमी चाहियो’
भोजपुरकै अर्को एक कार्यक्रममा ओलीले सरकारको नेतृत्वमा रहेका नेताको शासकीय अयोग्यता र निजी स्वार्थका कारण देश विकास हुन नसकेको बताए ।
‘विकासप्रेमी सरकार चाहिएको हो, आफ्नो थैलो भर्न खोज्ने नेता होइन । त्यस्तो पार्टीले मात्र विकास गर्न सक्छ । त्यसैले हामी मिसन– २०८४ को कुरा गरिरहेका छौ । मिसन ०८४ को अंशका रूपमा यो यात्रा गरेका हौं,’ ओलीले भने ।