०५ असार २०८३, शुक्रबार

धान जोनमै उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै

मंसिर २८, २०८०
चितवन
धान जोनमै उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै

चितवनमा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम शुरू गरिएको छ । भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो ।

मङ्गलबारदेखि माटो परीक्षणको काम शुरू गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए । उनका अनुसार जोनअन्तर्गत् आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो । 

यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको उनले जानकारी दिए । सूचना अधिकारी ढुङ्गानाका अनुसार गत वर्ष ३९ हजार ८८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर पाँच दशमलब दुई मेट्रिकटन उत्पादकत्व हो ।

यसवर्ष पनि सोही अनुपातमा धान उत्पादन भएकाले माटो परीक्षण गरिएको उल्लेख गर्दै उनले भने, 'धान उत्पादन दस प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन । कारण पत्ता लगाउन माटो परीक्षण गरिएको हो ।'

जोन क्षेत्रमा रोगका किराको आक्रमण माटोका कारणले भएको हुनसक्ने देखिएपछि एक हजार ५० नमुना सङ्कलन गरेर परीक्षण शुरू गरिएको र जोनमा लगाइएको धानमा नेक व्लाष्ट (घाँटी मरुवा), सित ब्लाइट, कालोपोके र  गबारोलाग्नेजस्ता समस्या देखापरेको थियो । यो समस्या माटोमा कुन तत्वको कमीले भएको हो भन्ने बिषयमा माटो परीक्षणबाटै जानकारी हुने उनले बताए ।

माटो परीक्षण गर्दा माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फसफोरस, पोटासको मात्रा कति छ र अम्लियपन वा छ्यारीयपन कति छ भन्ने पत्ता लगाइन्छ । 

जिल्लामा धान जोन शुरू भएको चार वर्ष भएको छ । अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उल्लेख गर्दै सूचना अधिकारी ढुङ्गानाले भने, 'धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व तीन दशमलब छ मेट्रिकटन प्रतिहेक्टर थियो ।धान जोनका रुपमा पूर्बी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो । माटो परीक्षणको नतिजा आउन केही समय लाग्छ ।'

salt training

कमेन्ट गर्नुहोस्