०९ साउन २०८३, शनिबार

ओली पुगे विश्राम लिन जन्मघर, सुने सर्वसाधारणका समस्या

मंसिर २९, २०८०
काठमाडौं
ओली पुगे विश्राम लिन जन्मघर, सुने सर्वसाधारणका समस्या

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिएका छन् । 

बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने सङ्कल्प यात्राका क्रममा बिहीबार गृहजिल्ला पुगेका ओली शनिवारसम्म गृहजिल्लामै रहने कार्यक्रम छ । दुई दिन तेह्रथुमका विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाका समस्या बुझ्ने कार्यक्रम जारी रहेको एमालेको कोशी प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताए ।

म्याङलुङस्थित पार्टी कार्यालयमा शुक्रवार पार्टी कार्यकर्तासँग भएको भेटमा जिल्लाका समस्याबारे अध्यक्ष ओलीले जानकारी लिए । तेह्रथुम र पाँचथर जोड्ने लुबुघाटमा मोटर सञ्चालन हुने पुल १२ वर्षदेखि नबन्दा सर्वसाधारण मर्कामा परेकाले तत्काल पुल निर्माणको काम थाल्न ध्यानाकर्षणपत्र बुझाइएको छ ।

जन्मघरमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि भेला भएका सर्वसाधारण र कार्यकर्ता ।

ध्यानाकर्षणपत्र बुझ्दै ओलीले देशको समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरिएको बताउँदै प्रस्तुत विषयमा पार्टीभित्र गम्भीर छलफल गरी सरकारको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे । 

कृषिको व्यावसायिकीकरण र वैज्ञानिकीकरण नगरेसम्म समृद्धिको सपना साकार नहुने बताउँदै अध्यक्ष ओलीले किसानका समस्या समाधान गर्न पार्टीले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे । 

शुक्रवार अध्यक्ष ओलीले आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघरमा विश्राम गरेका छन् ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत क्षेत्रको विकासक सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिका लागि सङ्कल्प यात्रामा छन् ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्