२५ जेठ २०८३, सोमबार
नेपाली चलचित्र

सिक्वेल र सिरिजमै ध्यान

मंसिर ३०, २०८०
काठमाडौं
सिक्वेल र सिरिजमै ध्यान

निर्देशक दीपेन्द्र के. खनालले शुक्रवार चलचित्र ‘के घर के डेराः घर नं. २’ निर्माणको घोषणा गरे । उनले गतवर्ष प्रदर्शनमा आएको आफ्नो चलचित्र ‘के घर के डेरा’को सिरिजका रूपमा यसको दोस्रो श्रृङखलाको घोषणा गरेका हुन्। 

सामाजिक सञ्जाल फेसबुकमा पोष्टर सार्वजनिक गर्दै घोषणा गरिएको चलचित्रको प्रदर्शन मितिसमेत तय गरिएको छ । 

साहित्यकार बुद्धिसागरको लेखन रहने चलचित्र आगामी वर्षको तिहारमा प्रदर्शनमा ल्याइने पोष्टरमा उल्लेख छ । 

निर्देशक खनाल अन्य केही चलचित्रको समेत सिक्वेल वा सिरिज निर्माणको क्रममा छन् । गत कात्तिकमा प्रदर्शनमा आएको उनी निर्देशित चलचित्र ‘पशुपति प्रसाद २: भस्मे डन’ले राम्रो व्यापार गरेको थियो । त्यसपछि खनालको निर्देशनमा  ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा भइसकेको छ ।

यसअघि दीपेन्द्रकै निर्देशन रहनेगरी चलचित्र ‘आमा २’ र ‘चङ्गा चेट २’ निर्माणको घोषणासमेत भइसकेको छ । ‘चङ्गा चेट २’मा अभिनेता विपिन कार्कीलाई अनुबन्धितसमेत गरिएको भए पनि छायांकन भने शुरू हुन सकिरहेको छैन । 

यसवर्ष भदौमा प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’को पनि दोस्रो श्रृङखला निर्माणको घोषणा भइसकेको छ । दीपेन्द्र लामाको निर्देशन, हिमाल कड्रियाको निर्माण रहेको चलचित्रले राम्रो व्यापार गरेसँगै ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको थियो ।

लामाकै लेखन एवं निर्देशनमा निर्माण हुने चलचित्रको कथा ‘नाङ्गो गाउँ’ सकिएको ठाउँबाट शुरू हुने जनाइएको छ । यसरी हेर्दा चलचित्रमा ‘नाङ्गो गाउँ’कै मुख्य कलाकार अभिनेता दयाहाङ राई र शिशिर वाङ्देलको शीर्ष भूमिका रहने बुझन् सकिन्छ । यो चलचित्रको घोषणा अहिले भए पनि छायांकन भने अर्को वर्ष मात्र हुने लेखक एवं निर्देशक लामाले बताएका छन् । 

यसवर्ष दशैंको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ दोस्रो श्रृङखला थियो । यो चलचित्र बक्स अफिसमा हिट भएसँगै यसका निर्माता राजेश वंशल र निर्देशक नारायण रायमाझीले आफूहरूको सहकार्य रहेको पहिलो चलचित्र ‘गोर्खा पल्टन’को दोस्रो श्रृङखला निर्माणको तयारीमा जुटेको चर्चा छ । ‘गोर्खा पल्टन’ व्यवसायिक रूपमा सफल चलचित्र हो । निर्माता वंशल र निर्देशक रायमाझी भने कुन नाममा चलचित्र बनाउने भनेर अहिलेसम्म निर्कौलमा नपुगेको बताउँछन् । 

अरु केही निर्माता एवं निर्देशकहरू समेत सिक्वेल वा सिरिजको तयारीमा जुटेका छन् । प्रायः अघिल्लो चलचित्र हिट भएपछि निर्माता निर्देशकहरू त्यसको अर्को श्रृङ्खलाको तयारीमा जुटने गरेका छन् ।

सिक्वेल वा सिरिज निर्माण निर्माता एवं निर्देशकका लागि सजिलो बनिरहेको देखिन्छ । चलचित्रको नाम दर्शकले सुनिसकेकाले प्रचारप्रसारमा कमै खर्च गरे पुग्ने र हिट चलचित्रको श्रृङखलाले सजिलै लगानी उठाउन सक्ने बुझाइका कारण पनि यसतर्फ ध्यान जाने गरेको जानकारहरू बताउँछन् । 

यद्यपि, कतिपयले भने ‘सिक्वेल वा सिरिज निर्माण गर्नु भनेको पुरानै चलचित्रको नाम भजाएर खानुजस्तै’ भएको टिप्पणी गर्ने गरेका छन् । नेपालमा ‘नाइ नभन्नू ल’, ‘छक्का पञ्जा’, ‘कबड्डी’ र ‘ए मेरो हजुर’ नाममा सबैभन्दा धेरै चलचित्र बनेका छन् । ‘नाइ नभन्नू ल’को छैठौं श्रृङखला प्रदर्शनमा आइसकेको छ भने अन्यका चौथो श्रृङखलासम्म दर्शकले हेरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्