
नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा शनिवार दिनको दोस्रो खेलमा चितवन र इलामले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यस बराबरीले प्लेअफ पुग्ने चितवनको गणितीय सम्भावना अझै बाँकी छ । इलाम भने अब शीर्ष चारको दौडबाट बाहिरिएको छ ।
चितवनले ७ खेलबाट ६ अंक बटुलेर तालिकाको सातौं स्थानमा यथावत रह्यो । इलाम ५ अंकसहित तालिकाको पुछारमै छ ।
शनिवार नै भएको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगञ्ज युनाइटेडमाथि रोमाञ्चक जीत निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले वीरगञ्जमाथि २–१ गोल अन्तरको रोमाञ्चक जीत निकालेको हो ।
पोखरालाई जीत दिलाउन जो आइडु र मोसेस ग्याबाले एक–एक गोल गरे । वीरगञ्जका लागि आइकिन्स बफोरले सान्त्वना गोल फर्काए ।
जारी प्रतियोगितामा तेस्रो जित निकालेको पोखराले ६ खेलमा ११ अंक जाेडेको छ । यससँगै उ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो पराजय ब्यहोरेको वीरगञ्ज समान खेलबाट ५ अंकका साथ आठौं स्थानमा छ ।