१९ असार २०८३, शुक्रबार

भारतबाट चोरिएका कार नेपालमा सस्तोमा बिक्री, दुई जना पक्राउ

पुस १, २०८०
काठमाडौं
भारतबाट चोरिएका कार नेपालमा सस्तोमा बिक्री, दुई जना पक्राउ

भारतमा चोरी भएका गाडी नेपालमा ल्याएर सस्तोमा बिक्री गर्ने गरेको पाइएको छ । नेपाली बजारमा करिब ७५ लाख रुपैयाँ पर्ने चोरीका कार २१ लाख रुपैयाँमा बिक्री गर्ने दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई क्रेटा, ब्रेजा र इलेक्टोनिक्स ५ वटा गाडीसहित पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मिलन केसीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले नक्कली ब्लुबूकसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डीबी तामाङ भन्ने दिलबहादुर तामाङ र सिन्धुपाल्चोक साँघाचोक नगरपालिका १ चौताराका आइतसिंह तामाङ छन् । पक्राउ परेका दिलबहादुरसँग २ वटा नागरिकता समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनले काभ्रेको तेमाल गाउँपालिका ८ बाट दिलबहादुर तामाङ र सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट डीबी तामाङको नामबाट नागरिकता लिएको एसपी केसीले लोकान्तरलाई बताए ।

प्रहरीले दिलबहादुरलाई काठमाडौं महानरपालिका १३ कालिमाटीबाट पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले एनएमबि बैंकको सातौं तहको अधिकृतको छाप र यातायात व्यवस्था विभागको छापलगायत अन्य सरकारी छापहरू बरामद गरेको छ ।

एसपी केसीका अनुसार उनीहरूले भारतबाट गाडीहरू चोरी गरेर नेपाल ल्याउने र त्यसलाई नक्कली ब्लुबूक बनाएर बिक्री गर्ने गरेका थिए । ‘उनीहरूले भारतबाट ल्याएर नक्कली ब्लुबूक बनाउँदा रहेछन् । त्यो ब्लुबुक ट्राफिक प्रहरीलाई समेत थाहा पाउन कठिन हुँदोरहेछ,’ एसपी केसीले लोकान्तरसँग भने ।

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार दिलबहादुरले एउटा फुल अप्सनको क्रेटा गाडीलाई नेपालमा २१ लाखसम्म बिक्री गर्ने गरेको पाइएको छ ।

क्रेटा कार नेपाली बजारमा करिब ७५ लाख रुपैयाँ पर्छ । ‘नेपालमा क्रेटा फुल अप्सनको गाडी लगभग ७५ लाख रुपैयाँ पर्छ, उनीहरूले २१ लाखमा बेच्दा रहेछन्,’ ती अधिकारीले लोकान्तरसँग भने ।

प्रहरीले नक्कली ब्लुबूक बनाएर गाडी बिक्री गर्ने अन्य २ जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । उनीहरूलाई पनि काठमाडौं ल्याइने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्