
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) बारे औपचारिक रूपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभएको बताएका छन् ।
निगमको ग्राउण्ड ह्याण्डलिङको अधिकार खोस्न लागिएको भन्दै निगम सम्बद्ध क्रियाशील ट्रेड युनियनहरू आन्दोलित बनेको बेला मन्त्रीको तर्फबाट सचिवालयले यस विषयमा नेपाल सरकारले निर्णय नगर्दा सम्म वायुसेवा निगमको भूमिस्थ सेवा यथावत् रहने स्पष्ट गरेको छ । सचिवालयले निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूलाई आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किन समेत आग्रह गरेको छ ।
‘नेपाल वायुसेवा निगमको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङका सम्बन्धमा औपचारिक रूपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभएको र यस विषयमा नेपाल सरकारले निर्णय नगर्दा सम्म वायुसेवा निगमको भूमिस्थ सेवा यथावत् रहने विषय अवगत गराउँदै बायुसेवा निगमको समग्र सुधारमा केन्द्रीत हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाई कार्य गर्न निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूले संचालन गरेका आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किन माननीय मन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, शाखा अधिकृत कृष्णप्रसाद भट्टराईद्वारा आइतबार ट्रेड युनियनहरुलाई प्रेषित पत्रमा भनिएको छ ।
