
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डमा जनताले भोग्नुपरेका समस्याको अन्त्य गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट सोमवार दिउँसो निर्माणाधीन दुई सडकखण्डको भर्चुअल निरीक्षण गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
‘गिट्टी, बालुवा, ढुंगा, विद्युत्का सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो’ प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो। समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ। दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ।’
राष्ट्रिय गौरवका योजनामा दुई सिफ्टमा काम गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एकपटक अवसर लिऔं। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौं’ उनले भने ।
निरीक्षणका लागि आफू फिल्डमै खटिने भन्दै प्रधानमन्त्रीले विकासका कामलाई बढी समय दिने बताए ।
‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ। तोकिएको समयमा नै काम सकिनुपर्छ। यी कारणले काम भएन भन्न पाइने छैन’ प्रधानमन्त्रीले भने, ‘यी दुई प्रजेक्ट महत्वपूर्ण छन् । समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।’