
कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीमै ल्याउन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर सकारात्मक देखिएका छन् ।
सोमवार बेलबारीका जनप्रतिनिधि, प्रदेशसभा सदस्यसहित स्थानीय राजनीतिक दलले महानिरीक्षक कुँवरलाई भेटेका थिए ।
भेटमा आईजीपी कुँवरले प्रहरी अस्पताल पुनः बेलबारी स्थापना गर्न सकारात्मक रहेको बताएका बेलबारीका नगर प्रमुख दिलप्रसाद राई (डीपी)ले जानकारी दिए ।‘हिजो हामीले प्रधानमन्त्रीलाई भेटेका थियौं । आज आईजीपी साव'लाई भेट्यौं । उहाँहरूले अस्पताल बेलबारीमै सार्न सहयोग गर्ने आश्वासन दिनु भएको छ’ प्रमुख राईले भने ।
अस्पतालका लागि २ बिगाह जग्गा उपलब्ध गराउने सहमति भएको राईले बताए । यही पुस १० गते प्रहरीले जग्गा हेर्न टोली पठाउने भएको छ । ‘तीन ठाउँमा जग्गा देखाउँछौं । जुन ठीक हुन्छ, त्यही दिन्छौं’, प्रमुख राईले भने ।
नगरपालिकाले दिएको जग्गामा अस्पताल नबनेसम्म बेलबारी ४ मा निर्माणाधीन अवस्थामा रहेको २५ शय्याको अस्पताल नगरपालिकाले दिने सहमति भएको छ ।
नगरपालिकाले दिने भनेको जग्गा हेर्न चाँडै प्रहरी पठाइने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले बताए । ‘जग्गा हेर्न चाँडै हाम्रो टोली जाँदै छ,’ उनले भने, ‘टोली आएपछि थप छलफल गरेर अगाडि बढ्छौं ।’

हिजो बेलबारीमै प्रदेश प्रहरी अस्पताललाई पुन स्थापनाको माग राख्दै जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।
बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।
मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिमा सदस्य सुनिल शर्मा बेलबारीका मेयर दिलप्रसाद राई (डीपी), उपमेयर नितु थापा कोइराला, कोशी प्रदेशसभा सदस्यहरू ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिनालगायतका जनप्रतिनिधिहरूले प्रहरी महानिरीक्षक कुँवरलाई भेटेका थिए ।
अस्पताल सारिएको विषयमा चौतर्फी विरोध भएपछि प्रतिनिधिसभा सदस्य शर्मा पनि आइजीपीलाई भेट्न पुगेका थिए ।
अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको सदरमुकाम इनरुवा सारिएको थियो ।
नगरवासीले खबरदारी गरेपछि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरू अस्पताल फिर्ता ल्याउने प्रयासमा छन् ।
यसअघि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले मुख्यमन्त्री केदार कार्की, कांग्रेस नेता शेखर कोइराला लगायतलाई भेटेका थिए ।
सांसद सुवेदीले २ विगहा जग्गा दिने
अस्पतालका लागि प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २ बिगहा जग्गा दिने प्रतिबद्धता जनाएका छन् । अस्पतालका लागि २ बिगहा जग्गा दिन आफू तयार रहेको सुवेदीले बताए । ‘नगरपालिकाले तीन ठाउँमा देखाउने मध्ये एक ठाउँको जग्गा मेरो हो,’ सुवेदीले भने ‘प्रहरीले जुन जग्गा रुचाउँछ, त्यही जग्गा हामी दिन तयार छौं ।’
यसअघि सुवेदीले एक सामाजिक संस्थालाई ८ बिघा जग्गा दिएका थिए ।
जनयुद्ध प्रतिष्ठान नेपाललाई उनले जग्गा दिएका हुन् । उनी यसअघि बेलबारी नगरपालिकाका मेयर थिए । प्रतिष्ठानले उक्त जग्गाको सरक्षण गर्ने काम गरिरहेको छ ।