०४ साउन २०८३, सोमबार

बैंकको ब्याज दर एक अंकमा झार्न व्यवसायीको माग​

पुस २, २०८०
बुटवल
बैंकको ब्याज दर एक अंकमा झार्न व्यवसायीको माग​

बैंकको ब्याजदर  एक अंकमा झार्न र व्यवसायीमैत्री नीति बनाउन बुटवलका व्यवसायीहरूले माग गरेका छन् ।

दुई अंकको बैंक ब्याजदरले व्यवसायीहरू संकटमा परेको भन्दै उनीहरूले व्यवसायमैत्री वातावरण बनाउन आग्रह गरेका हुन् ।

उद्योग व्यापार संघ बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै रुपन्देहीका व्यवसायीहरूले उद्योग व्यापारविना देशको विकास सम्भव नहुनेमा जोड दिँदै साना र मझौला व्यवसायीलाई सुहाउँदो ब्याजदर र तीन तहकै सरकारको नीति बन्न आवश्यक बताए ।  

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मुलुक संकटमा परेका बेला बैंकहरूले ब्याजदर बढाउँदै जाँदा आर्थिक क्षेत्रमा समस्या बढेको बताए ।

पाण्डेयले करको दर नभई दायरा बढाउने गरी पालिका अघि बढेको बताए । ‘कर्जा सम्झौताको बेलामा उल्लेख भएभन्दा दोब्बर ब्याज लिँदा आर्थिक क्षेत्रमा समस्या भयो',उनले भने, ‘समस्या देखाउनभन्दा आफ्नो  ठाउँमा सबै जिम्मेवार  इमानदार बनौं ।’

उनले बुटवल बजार क्षेत्रको सडक विस्तारको डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री सडक बनाउनुपर्ने बताए ।

उद्योग व्यापार संघ बुटवलका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खिमनारायण पराजुलीले अबको व्यवसायीको लडाइँ राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंकर्स एसोसिएसनसँग रहेको बताए । बैंकर र व्यवसायी एउटै घराना हुँदा उनीहरूको दोहोरो भूमिकाले साना तथा मझौला व्यवसायी समस्यामा परेका पराजुलीले बताए । 

बुटवल उद्योग वाणिज्य, संघका अध्यक्ष हरिप्रसाद अर्यालले कर राजस्वका दर घटाउनुपर्ने बताए । प्रदेश सरकारको एकीकृत सम्पत्ति कर कानूनका कारण कर राजस्व अत्यधिक धेरै रहेका उनको भनाइ छ । ‘बैंक ब्याज दर लिँदा ८ प्रतिशत र तिर्दा १६ प्रतिशत हुँदा बैंकहरू मात्र मोटाउने परिपाटी अन्त्य हुनुपर्छ,’ अर्यालले भने । 

संघका अध्यक्ष गोविन्दराज गैरेले उद्योग व्यापारको विकासविना देशको आर्थिक विकास हुन नसक्ने बताउँदै बैंकको ब्याजदर घटाउन र बुटवलको सडक डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री बनाउन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्