प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री प्रक्रियाका सम्बन्धमा छानबिन भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवारको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त शेयर बिक्री प्रक्रियाका स्वाभाविक नलागेर नै सरकारले तत्काल समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट पारेका हुन् ।
'कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन रायसुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ,' उनले भने ।
प्रचण्डले कसैबाट कानूनविपरीत काम कारबाही भए/गरेको पाइए कानूनबमोजिम कारबाही हुने बताए ।
छानबिन समितिले नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग र अन्तर्गतका करदाता सेवा कार्यालय र धितोपत्र बोर्डसँग समन्वय गरी कागजात र विवरण संकलन गर्ने र सोको विश्लेषण गर्ने कार्य गरिरहेको प्रधानमन्त्री प्रचण्डले बैठकलाई जानकारी गराए ।
नियामक निकायहरूले आ–आफ्नो क्षेत्राधिकारमा रही वैदेशिक लगानीसमेत रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको वैदेशिक लगानी, शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन समेतको कार्य गरिरहेको अवगत उनले गरे ।