
बाराको अमलेखगञ्जमा बस र ट्रक ठोकिँदा तीन जनाको ज्यान गएको छ । गएराति अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेका अनुसार मृतक दुई जना बस र ट्रक चालक हुन् । एक जनाको भने सनाखत हुन बाँकी छ ।
ट्रक चालक तनहुँ पिपरटार बस्ने २८ वर्षीय पुर्ण गुरुङ र बस चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-०३ बस्ने ४० वर्षीय हरि शम्सेर सुयालको मृत्यु भएको हो । दुवैको उपचारको क्रममा निधन भएको उनले जानकारी दिए ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोकिएको हो ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहहरूको उपचार भइरहेको उनले बताए ।