
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् ।
चौधरीलाई अध्यक्षको रुपमा स्वीकार गर्न अर्का प्रत्यासी आकाश गोल्छा सहमत भएसँगै उनी सर्वसम्मत चयन हुने भएका हुन् । त्यसपछिको अवधिका लागि गोल्छा नाडाको अध्यक्ष बन्नेछन् ।
नाडाका अध्यक्ष ध्रुव थापा र पूर्वअध्यक्षहरूको बैठकले आगामी २ वर्षे कार्यकालका लागि चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने निर्णय गरेको हो ।
नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ । त्यसअघि नै सहमतिमा अध्यक्ष चुनिएको हो ।
यसका लागि सोमवार अटो व्यवसायीहरूको विशेष बैठक बसेको थियो । बैठकले अध्यक्षका लागि निर्वाचन गर्दा अस्वस्थ प्रतिस्पर्धा बढेको र अटो व्यवसायीबीच नै फाटोको अवस्था सिर्जना भएको भन्दै सहमतिमै अध्यक्ष चुनिनुपर्ने एजेन्डा पारित गरेको थियो ।
सोही एजेण्डा अनुसार मंगलवार चौधरी अध्यक्षका लागि चयन भएका हुन् ।
साथै विशेष महाधिवेशन गरेर वरिष्ठ उपाध्यक्षको पद सृजना गर्ने र अर्का प्रत्यासी गोल्छालाई सो पदमा सर्वसम्मत निर्वाचित गर्ने सहमति भएको छ ।