
झापामा जङ्गली हात्तीको आक्रमणबाट वडा कार्यालय सहयोगीको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट बुधवार बिहान हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार बिहानै घुम्न निस्किएपछि राजवंशी सम्पर्कविहीन बनेका थिए ।
घर नफर्किएपछि परिवारका सदस्यहरूले उनको खोजी गर्दा घर नजिकैको नालामा मृत भेटिएका थिए ।
जिल्ला वन डिभिजन कार्यालय र प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । राजवंशीको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल लगिएको छ ।
गत मङ्सिरमा पनि हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।