०४ साउन २०८३, सोमबार

बालविवाह गराएको आरोपमा बेहुलीकी आमासहित ५ जना पक्राउ

पुस ४, २०८०
नवलपुर
बालविवाह गराएको आरोपमा बेहुलीकी आमासहित ५ जना पक्राउ
फाइल फोटो

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलवार राति पक्राउ गरिएको हो ।

‘बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौं’, उनले भने । छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

गत मङ्सिर २९ गते बालिकालाई उनकी सानीआमाको घर लगेर दबाब दिएर विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए । पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उनले बताए ।

उक्त दफाअनुसार जबरजस्ती बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्