
मंगलवार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (लिलामी बढाबढ)मा पञ्जाब किंग्सले खेलाडीलाई मूल्य लगाउँदा गल्ती गरेको पाइएको छ ।
पञ्जाबको तर्फबाट बिड लगाइरहेका नेस वाइडा र अभिनेत्री प्रिति जिन्टाले एउटा खेलाडी भनेर अर्कैलाई किनेका छन् ।
सहजकर्ता मल्लिका सागरले शशांक सिंहको नाम लिएपछि उनीहरूले हात उठाएर २० लाख भारतीय रुपैयाँको बोली लगाएका थिए ।

तर जब उनीहरूले शशांक आईपीएलका ‘अनक्याप्ट’ खेलाडी भन्ने थाहा पाए । त्यसपछि भने उनीहरूको होस आएको थियो ।
नेस र प्रितिले त्यो बोलकबोल फिर्ता गर्न अक्सनकर्तालाई आग्रह गरेका थिए । तर नियमअनुसार ढिला भइसकेकाले प्रक्रिया उल्टिएन ।
अब छत्तीसगढका ३२ वर्षीय अलराउन्डर शशांक पञ्जाबको टोलीमा देखिने भएका छन् ।
यूएईको दुबईमा भएको अक्सनमा अष्ट्रेलियाका मिचेल स्टार्क आफ्नै देशका विश्वविजेता कप्तान प्याट कमिन्सलाई पछि पार्दै आईपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडी बनेका थिए ।