
नेपाल सुपर लिग (एनएसएल) फूटबलमा झापा एफसीले धनगढी एफसीलाई हराएको छ ।
दशरथ रंगशालामा बुधवार भएको खेलमा झापाले धनगढीलाई २–० ले हराएको हो ।
झापाको जीतमा अञ्जन विष्ट र समिराज थोकरले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा झापाले दोस्रो हाफमा दुई गोल गरेको हो ।
खेलको ५२ औं मिनेटमा अञ्जनले हेडमार्फत झापालाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ७७ औं मिनेटमा समिराजले गोल गर्न सफल रहे ।
खेल सकिन ११ मिनेटअघि झापाका धीरज थकाली रातो कार्ड खाँदै मैदान बाहिरिए पनि धनगढीको हार टरेन ।
धनगढीले सातौं खेलमा आएर झापासँग लिगको पहिलो हार ब्यहोरेको हो ।
जीतसहित झापा ७ खेलबाट १० अंक जोड्दै लिग तालिकाको चौथों स्थानमा उक्लिएको छ । धनगढी १२ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा यथावत छ ।
धनगढीलाई हराएपछि झापाले प्ले अफ खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।