
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योजनावद्ध सहरको विकास गर्नुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको बताए ।
'काठमाडौंभित्र व्यवस्थित नमूना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो,' उनले भने, 'यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो। हामीले योजनावद्ध सहरको विकास गर्नुपर्छ। त्यसलाई हामीले स्मार्टसिटीको नाम दिएका छौं। यो दीर्घकालीन रणनीति हो, गम्भीरतापूर्वक सोचेर यसको कार्यान्वयनमा जानुपर्छ।'
सहरीकरणको कुरा गर्दा सहरी सौन्दर्यलाई पनि सँगसँगै लैजानुपर्ने उनले बताए । 'हाम्रो विकास भौगोलिक बनोटअनुसार हुनुपर्छ भनेर मैले भन्दै आएको छु। हामीले पूर्वपश्चिम र उत्तर–दक्षिण दुवैतर्फ जोड्ने विकास हाम्रो आवश्यकता हो। हामीले यसरी नै सोच्नुपर्छ,' उनले भने, 'मध्यपहाडी लोकमार्ग म पहिलोपटक प्रधानमन्त्री हुँदा नै शुरू गरिएको थियो। हुलाकी राजमार्ग पनि हामीले नै अगाडि बढाएका थियौं। उत्तर–दक्षिण करिडोर पनि विकासको हाम्रो भिजन हो। देशको अवस्था जस्तो छ, भौगोलिक बनोटजस्तो छ, आर्थिक चरित्र जसरी विकसित भइरहेको छ, विकासको मोडेल पनि त्यस्तै बनाउनुपर्छ ।' वन र वातावरणको क्षेत्रमा धेरै नीतिगत र कानुनी सुधार जरूरी रहेको उनले बताए ।
छलफलमा सहरी विकासमन्त्री सीता गुरूङले आयोजनाको संख्या र बजेटको सीमितताबीच काम गर्नुपर्ने अवस्था रहेको बताइन् । व्यवस्थित सहर बनाउने परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर काम अगाडि बढाउनुपर्ने उनले बताइन् ।