
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गर्ने तर काम नगर्नेको लाइसेन्स खारेज गर्न निर्देशन दिएका छन् ।
बिहीवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ । लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ । यहाँ हामी लचिलो हुन जरुरी नै छैन । निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ । त्यो काम गर्नुस्’ उनले भने ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्युतको बक्यौता नतिर्नेहरूको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न पनि निर्देशन दिए ।
‘विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ’, उनले भने, ‘त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस् । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौं । ठूलाबाट शुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाऊँ ।