
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विवादस्पद अभिव्यक्ति दिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग राखेको छ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ बिहीवार एक विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् ।

संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नभएकाले किरातीलाई बर्खास्त गर्न माग गरिएको राप्रपाले जनाएको छ ।
‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ ।’
मन्त्री किरातीले एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मलगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी अभिव्यक्ति दिएको राप्रपाको आरोप छ ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन् भनी एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मलगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैरसंवैधानिक, सामाजिक सद्भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ,’ विज्ञप्तिमा उल्लेख छ ।
बुधवार आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका मन्त्री किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।
यसै अभिव्यक्तिको चर्को विरोध भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण पनि दिइसकेका छन् । तर विरोध रोेकिएको छैन ।
यसैबीच मन्त्री किरातीलाई कारबाही गर्न माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

संगठनले बिहीवार दिउँसो पाशुपत क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले ‘सुदन किराती राजीनामा दे’, ‘विभेदकारी मन्त्रीलाई कारबाही गर’, ‘धर्मनिरपेक्षता खारेज गर’जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी धार्मिक अभियन्ता पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले एउटा समुदायको कार्यक्रममा गएर अन्य समुदायलाई अभिव्यक्ति दिनु उनको गैरजिम्मेवारीपन रहेको बताए ।