
प्रधानमन्त्री प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले आफू अमेरिका बसाइँ सरेको भनेर गलत प्रचार गरिएको गुनासो गरेकी छन् । अमेरिकामा आयोजित ‘युथ लिडरसिप कम्फरेन्स’मा सहभागी हुन आफू जाँदा बसाइँ नै सरेको भनेर प्रचार गरिएको भन्दै आक्रोश उनले पोखेकी हुन् ।
आफू लसएन्जलसमा आयोजित उक्त कार्यक्रममा सहभागी भइ नेपाल फर्किएको समेत एक महिना भइसकेको उल्लेख गर्दै त्रिपाठीले प्रधानमन्त्रीले देशमै केही गर्नुपर्छ भन्ने सन्देश आम रुपमा दिइरहेको सन्दर्भमा उनकै परिवारको सदस्य परदेशिएको गलत सन्देश दिन खोजिएकोप्रति सचेत रहेको बताइन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू नेपालमै रहेको र नेपालमै डटिरहने बताएकी छन् । उनले भनेकी छन्, ‘...नेपाल फर्केको पनि एक महिना भइसक्यो । पार्टी र पारिवारिक काममा ब्यस्त छु । तर, केही संचारमाध्यम मलाई अमेरिका बसाइ सरेको भनि प्रचार गर्न ब्यस्त रहेछन्, बिमानस्थलमा खिचिएको पूरानो तस्बिर हालिवरी । सम्माननीय प्रधानमन्त्रीले देशमै केही गर्नुपर्छ भन्ने सन्देश आमरुपमा दिइरहेको सन्दर्भमा वहाँ कै परिवारको सदस्य परदेसिएको गलत सन्देश दिन खोजिएको कुराप्रति हामी सचेत छौँ । म सबै सुभेच्छुकसँग सादर निबेदन गर्दछु– म यहीँ छु, यहीँ डटिरहने हो, खटिरहने हो ।’
