काठमाडौं १५ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दशैंको असवरमा टीका-जमरा लगाएकोप्रति नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेताले कडा टिप्पणी गरेका छन् ।

पूर्व माओवादी नेता धर्मेन्द्र बास्तोलाले प्रचण्डका कारण स्वर्गमा रहेका माक्स, एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले लाजले टाऊको फर्काएको हुनुपर्ने उनको टिप्पणी छ । सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै बास्तोलाले प्रचण्डका कारण मरिसकेका माओले समेत लाज मानेको हुनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन् ।
‘हिन्दु पर्व दशैमा कमरेड प्रचण्डले धार्मिक टिका लेनदेन गरेको तस्वीर सञ्चारमा देख्दा २०४८ साल तिरको त्यो घटना याद आयो, भूमिगत प्रचण्ड र म हिड्दै गर्दा यौटा मन्दिरमा पुजा गर्ने अवस्थामा तत्कालीन माले नेता मोहन चन्द्र अधिकारीले पेटी खोल्दै गरेको देखिनु भो’ बास्तोलाले फेसबुकमा लेखेका छन, ‘ ...गर्नेलाई भन्दा देख्नेलाई लाज भन्दै प्रचण्ड फर्किनु भो । आज प्रचण्डलाई धार्मिक रुझानमा देखेपछि यो धर्तिमा त के स्वर्गमा बसेका मार्कस, एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले लाजले टाऊको फर्काएको हुनुपर्छ । अर्थ नबुझ्ने वा अवसरवादीकालागि यो बिषयमा के सरोकार भयो र ?’
