
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् ।
बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् । प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मन्त्रालय दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
००००
पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ ।
पोखरास्थित अमरसिंहचौरमा भएको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले शनिवार मकैको खोया प्रहार गरेका हुन् ।
यसैबीच लामिछानेले आफूमाथि प्रहार गरिएको मकैको खोया सजाएर राख्ने बताएका छन् । उनले खोया प्रहारपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
सो अवसरमा उनले आफूले टेलीभिजन पत्रकारितामा रहँदा धेरै नेपालीको पक्षमा काम गरेको उपहार अहिले खोयाको रुपमा पाएको भन्दै व्यंग्यसमेत गरेका छन् ।
लामिछानेले जनता र आफ्ना सपना वास्तविकतामा परिणत नभएसम्म त्यो खोयालाई सजाएर राख्ने पनि बताए ।
००००
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन्। नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उनले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताए ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।
००००
नेकपा एकीकृत समाजवादीको ७०औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
००००
मकवानपुरको एक स्थानीय तहले इसाई धर्मावलम्बीको चाड क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ ।
राक्सिराङ गाउँपालिकाले पुस ८, ९ र १० गते गर्ने सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो वर्षको क्रिसमस ९ गते परेकामा गाउँपालिकाले थप दुई दिन समेत बिदा दिने निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलको व्यवस्थामा कसैको बहुमत आउन नसक्ने बताएका छन् ।
पार्टीको बागमती प्रदेश सम्मेलनमा उनले सबै जाति, भाषा, धर्म, क्षेत्रका जनताको समावेशी लोकतान्त्रिक व्यवस्था भएकाले यो व्यवस्थामा कसैको बहुमत नआउनेस्पष्ट पारेका हुन् ।
००००
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन् ।
न्युज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई आँच आउन नदिने प्रतिबद्धता जनाएका छन् । मोरङको विराटनगरमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशले शनिवार आयोजना गरेको पदस्थापना तथा प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
००००
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतहरु हङकङ प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा नेताहरु शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपण गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् । शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका हुन् ।
००००
नेकपा माओवादी केन्द्रले लक्ष्यअनुसार पार्टी सदस्यता नवीकरण गराउन नसकिएको निष्कर्ष निकालेको छ । जारी चार महिने अभियानको क्रममा पार्टीबाट भएको कमजोरी केलाउँदै माओवादीले लक्ष्यअनुसार सदस्यतासमेत नवीकरण गराउन नसकिएको निष्कर्ष निकालेको हो ।
००००
भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने अर्का एक ट्राभल्स संचालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोलमा सिटि टुर्स एण्ड ट्राभल्सका संचालन गर्ने बिनोद कार्की छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुल्खुबाट पक्राउ गरेको हो ।
००००
मंसिर महिनामा विभिन्न १०८ देशमा रोजगारीका लागि जान नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ती देशमा जान कुल ७१ हजार २७६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । त्यसमा पुनः श्रमस्वीकृति लिएका बाहेकका श्रमिक नै ३६ हजार ८० जना रहेका छन् ।
००००
नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम दिएका हुन् ।