
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरुन्त हल गर्न निर्देशन दिएका छन् ।
आइतवार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफललाई निर्देशित गर्दै उनले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन् ।
‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ताहरू दिक्दार छन्,’ उनले भने, ‘त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनावद्ध रूपमा काम गर्नुस् ।’
प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने प्रतिबद्धता दोहोर्याए ।
‘मेलम्चीको काम तीव्रतामा नै भइरहेको मैले बुझेको छु । १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्याउने योजनासहित २८ दिनको कम्प्याक्ट कार्ययोजना निर्माण भई अहिले दुई सिफ्टमा काम भइरहेको छ,’ उनले थपे, ‘एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइन्छ । यसैअनुरूप खानेपानी मन्त्रालयको नेतृत्व र सबै टिमले विशेष चासो दिएर काम गर्नुहोला ।’
अहिले मकवानपुरस्थित सिस्नेरी खोलाबाट ११ करोड लिटर पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन पनि भइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।
‘काठमाडौं उपत्यकामा अहिले दैनिक २५ करोड लिटरको खानेपानी माग छ । हामीले मेलम्ची बाहेकका अन्य स्रोतको पनि पहिचान गरी कार्य गर्नुछ,’ उनले भने, ‘अहिले मकवानपुरस्थित सिस्नेरी खोलाबाट ११ करोड लिटर पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । यस कार्यलाई पनि मन्त्रालले तीव्र्रता दिनुहुनेछ ।’
बैठकमा खानेपानीमन्त्री महेन्द्र राय यादवले खानेपानी आयोजनाहरूमा संरचनागत सुधार जरूरी रहेको बताउँदै सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानूनी समस्याहरूको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने बताए ।