
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कर्जनहास्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सीपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
माध्यमिक तहका विद्यार्थीहरूमा व्यावसायिक र प्राविधिक ज्ञान एंव सीपको विकास गर्ने उद्धेश्यले बैंकले इन्जिनियर्स विथआउट बोर्डर्स नामक संस्थासँगको सहकार्यमा व्यावसायिक सीपमुलक तालिम आयोजना गरेको हो ।
एक सातासम्म विद्यालयल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरी आइतवार कार्यक्रम समापनको गरेको थियो ।
उक्त समापन कार्यक्रममा वन तथा वातावरणमन्त्री एंव बैंकका पूर्वअध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले विद्यालय स्तरदेखि नै विद्यार्थीमा व्यावसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने बताए ।
यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता बृद्धि गर्न सहयोग गर्ने उनको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रेबैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए । उनले आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
एक सातासम्म सञ्चालन भएको उक्त सीपमुलक तालिम कार्यक्रममा गोबर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा उनबाट बनेका विभिन्न सजावटका सामान बनाउने व्यावसायिक तालिम विद्यार्थीलाई प्रदान गरिएको थियो ।