मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको मृत्यु भएको छ ।
लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर- १० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान मृत्यु भएको हो ।
कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा सहनीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ गते अस्पताल लगेको थियो ।
आफन्तहरूले समयमै जानकारी नदिइएको र उपचारमा लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।
१० महिना २२ दिनको कैद सजाय सुनाइएका सहनीको सोमबार नै कैदीका रूपमा अन्तिम दिन थियो ।
लेनदेन मुद्दामा उनलाई मोरङ जिल्ला अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।
तत्कालीन अवस्थामा फरार रहेका उनलाई पछि पक्राउ गरेर कारागार चलान गरिएको थियो ।