
पूर्वपश्चिम राजमार्गअन्तरगत नारायणगढ–बुटबल सडकको निर्माण छिटो सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा शुरू गरेको छ । रास्वपा सभापति रवि लामिछानेसहित नेताले सोमवार नवलपुरको गैडाकोटबाट यात्रा शुरू गरेका हुन् ।
तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएकोले सरोकारवालालाई दबाब दिन यात्रा शुरू गरिएको लामिछानेले बताए । चार लेनमा विस्तार गर्न लागिएको नारायणगढ–बुटबल खण्डको १ सय १५ किलोमिटर राजमार्गको भौतिक प्रगति ४४ प्रतिशत मात्र रहेको छ ।

२०७५ सालमा शुरू भएको आयोजनाको काम २०७८ मै सम्पन्न हुनुपर्ने भए पनि अझै ५० प्रतिशत काम पूरा भएको छैन ।
सरकार र ठेकेदारको लापरवाहीका कारण सडक विस्तारको काम पूरा नभएकोले दबाब दिन यात्रा शुरू गरिएको लामिछानेले बताए । ‘ठेकेदारको कुरा सुन्दा सरकारले रुख र बिजुलीका पोल नहटाएको गुनासो सुनिन्छ, सरकारको दाबी अकै छ,’ यात्रा शु्रू गर्नुअघि लामिछानेले भने, ‘सरकार र ठेकेदारका कारण स्थानीयतले दु:ख पाउनु भएन, सरोकारवालालाई दबाब दिन यात्रा शुरू गरेका हौं ।’
रास्वपाको यात्रामा पार्टीको भौतिक पूर्वाधार विभागकी संयोजक सांसद निशा डाँगीलगातय छन् । रास्वपा टोली बुधवार बुटवल पुग्ने छ ।