२६ असार २०८३, शुक्रबार

दुर्घटनामा दुई जनाको मृत्यु

पुस ९, २०८०
खोटाङ
दुर्घटनामा दुई जनाको मृत्यु

 सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै आज विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २० वर्षीय सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो ।

काठमाडौँबाट खोटाङ आउँदै गरेको बा६०प ३५४५ नंको मोटरसाइकललाई विपरीत दिशा (रामेछाप)बाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नंको बसले ठक्कर दिँदा मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए । दुर्घटनापछि बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । स्थानीय बासिन्दा एवम् अन्य सवारी साधनका यात्रुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । 

    यातायातका सवारी साधनको निकै चाप हुने उक्त राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने सवारी साधनहरु दुर्घटनास्थलमै लर्को लागेको थियो । दुर्घटनापछि आक्रोशित भीडले अवरुद्ध गरेको सडक करिब दुई घण्टापछि बिना सर्त खुलाइएको प्रहरीले जनाएको छ । 

    मृतकको शवपरीक्षणका लागि सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुर्‍याएको पाइएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्