
लामो समयको तयारीपछि नेपाली कांग्रेसले सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे समीक्षा गर्ने भएको छ ।
सरकार गठनको एक वर्षमा कांग्रेसका मन्त्रीले १० महिना सरकारमा बिताए पनि प्रभावकारी कार्यसम्पादन नगरेको भन्दै आलोचना बढेपछि केन्द्रीय समितिको बैठकमा सदस्यहरू समक्ष उपलब्धी प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
‘एक वर्षमा सरकारमा हाम्रा मन्त्रीहरूले १० महिना बिताउनुभएको छ । यस क्रममा उहाँहरूले के–के गर्नुभयो ? उपलब्धि उहाँहरूले प्रस्तुत गर्नुहुन्छ,’ कांग्रेस प्रचार विभाग मीन विश्वकर्माले लोकान्तरसँग भने, ‘उहाँहरूले जानकारी गराएपछि मन्त्रीसँग केन्द्रीय सदस्यको प्रश्नोत्तर र अन्तरक्रिया कार्यक्रम चल्छ ।’
गठबन्धनको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटी अनुसारको काम नभएको गुनासो गरिरहेको विश्वकर्मा बताउँछन् ।
‘यो व्यवस्थामा सफल हुँदा प्रधानमन्त्री सफल हुने हो । तर उहाँले गठबन्धन दलका मन्त्रीको कार्यसम्पादनबाट चित्त बुझाइरहनुभएको छैन,’ विश्वकर्माले भने, ‘हुटहुटी अनुसारको काम नभएपछि प्रधानमन्त्री मन्त्रीको कामबाट सन्तुष्ट देखिनुभएको छैन ।’
सरकारको कामको समीक्षाबाहेक पुस गतेको राष्ट्रिय मेलमिलाप दिवस कसरी मनाउने र महासमिति बैठकको तयारीको विषयमा पनि केन्द्रीय समितिले आवश्यक छलफल र निर्णय गर्ने जानकारी विश्वकर्माले दिए ।