
सर्लाहीको बरहथवामा लगाइएको कर्फ्यु हटेको छ । कर्फ्युको समय आज बिहान सकिएपछि बरहथवामा निषेधाज्ञा जारी भएको छ ।
बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।
निषेधाज्ञा भोलिसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयले शनिबार सूचना जारी गर्दै सम्भावित जोखिम नटरेकाले आज बिहान ८ बजेदेखि भोलि बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोति/चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
बरहथवा नगरपालिका–५ मा रहेको स्वास्थ्य चौकी स्तरोन्नति कसले गर्ने भन्ने विषयमा विवाद हुँदा स्थिति तनाबग्रस्त बनेको थियो ।
