०१ साउन २०८३, शुक्रबार

हुम्लामा एम्बुलेन्सको नयाँ भाडादर कायम

पुस २१, २०८०
हुम्ला
हुम्लामा एम्बुलेन्सको नयाँ भाडादर कायम
फाइल फोटो

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो ।

एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरूमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालबाट तीन गाउँपालिकाका विभिन्न बस्ती र सदरमुकामभित्र प्रतिकिमीका आधारमा भाडा निर्धारण गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।

सदरमुकामबाट जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका बस्तीबाट बिरामी ल्याउन रु ३२ हजार भाडा तोकिएको उनले जानकारी दिए । यो सबैभन्दा बढी भाडा लाग्ने स्थान हो ।

सिंहका अनुसार सदरमुकाम तथा बजार भित्रबाट जिल्ला अस्पतालमा बिरामी पुर्‍याउँदा रु एक हजार भाडा लाग्ने छ ।

'सदरमुकामदेखि बुराउँसेसम्म एक हजार पाँच सय, ठेहे तीन हजार, बरगाउँ दुई हजार पाँच सय, दोजाम पाँच हजार पाँच सय, डाडाफया दुई हजार तीन सय, हेप्का तीन हजार, खार्पुनाथ तीन हजार छ सय, याल्वाङ नौ हजार, याङ्गार नौ हजार आठ सय, मुचु १० हजार पाँच सय, लिमाटाङ दुई हजार पाँच सय, खगालगाउँ चार हजार पाँच सय, हिल्सा ३० हजार, तुम्कोट ११ हजार, यारी १३ हजार पाँच सय, चौगनफया पाँच हजार पाँच सय, धारापोरी पाँच हजार पाँच सय, केर्मी छ हजार आठ सय, लाग्ना एक हजार पाँच सय, तोर्पा तीन हजार भाडा कायम गरिएको छ', उनले भने ।

जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले गन्तव्यसम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा बिल दिनुपर्ने र तोकिएभन्दा बढी भाडा लिन नपाइने जानकारी दिइन् । उनका अनुसार जिल्ला अस्पताललाई गत वर्ष भारतीय दूतावासद्वारा उपहारस्वरुप एम्बुलेन्स सहयोग प्राप्त भएको थियो ।

सिमकोट–२ ठेहे गाउँका गणेश रावल स्वास्थ्य सेवा कार्यालयमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् । बिरामीको सेवाका लागि आफू जतिखेर तयारी अवस्थामा रहने उनले बताए । 

एम्बुलेन्सको भाडामा एकरुपता आएसँगै बिरामीका आफन्तसँग भाडाका विषयलाई लिएर हुने वादविवाद अन्त्य भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्