
राष्ट्रियसभामा भागबन्डा मिलाउन आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक आइतवार बिहान जारी छ ।
असन्तुष्टिका बीच नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच भागबन्डा मिलाउने निर्णायक बैठक जारी रहेको हो ।
शनिवार अबेरसम्म बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने गरी भागबण्डामा छलफल भएको छ । यद्यपि यसमा एकीकृत समाजवादीले चित्त बुझाएको छैन । यस्तै सिट दाबी गरेका जनमत र राष्ट्रिय जनमोर्चाले पनि चित्त बुझाएका छैनन् ।
शनिवार अबेरसम्मको छलफलका आधारमा आइतवार जारी सत्ता गठबन्धनको बैठकमा निर्णायक छलफलमा पुगिने नेताहरूको भनाइ छ ।
यसअघि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले छ, एकीकृत समाजावादीले दुई र जसपाले एक सिट लिने मोटामोटी समझदारी बनेको दाबी गरेका थिए ।
यसअघि शनिार नै बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको थियो । बैठक निष्कर्षविहीन बनेपछि शीर्ष नेताहरू फेरि छलफलमा बसेका थिए ।
सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा प्रतिपक्षी दल नेकपा (एमाले)लाई नसमेट्ने भएको छ । शनिवार बिहान बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले एमालेलाई नसमेटेरै अगाडि बढ्ने सहमति गरेको हो ।
शनिवार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतवार नै मतदाताहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ ।
अन्तिम नामावली प्रकाशित भएपछि सोमवार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । यसर्थ पनि सत्ता गठबन्धनलाई भागबन्डा मिलाउन सकस छ ।