काठमाडौं १७ असोज– नेपाली कांग्रेसले चुनावको मुखमा हुन लागेको एमाले–माओवादी गठबन्धन अस्वभाविक भएको प्रतिक्रिया जनाएको छ । राजनीतिक एजेण्डामा सहमति भएर बनेको वर्तमान सत्ता गठबन्धन भत्काउनु पर्ने कारण नभएको कांग्रेसको तर्क छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट कांग्रेस केन्द्रीय सदस्य डा प्रकाश शरण महतले चुनावको मनोनयनको मुखमा गर्न लागिएको गठबन्धन स्वभाविक नभएको बताए । ‘माओवादीसंग इस्यु मिलेर गठबन्धन गरिएको थियो, ती बिषयमा हाम्रो कुनै असमझदारी थिएन’ महतले मंगलवार लोकान्तरसंग भने, ‘असहमति भए सहमति गर्न सकिन्थो । चुनावको मनोनयनको मुखमा हुन लागेको यो गठबन्धनलाई कसरी स्वभाविक भन्ने ?’
कम्युनिष्टहरुले वामपन्थी एकताको कुरा गरेपछि कांग्रेसले पनि बृहत प्रजातान्त्रिक गठबन्धन बनाउने बिषयमा छलफल गर्ने महतले बताए । वामपन्थी गठबन्धनको चर्चाले कांग्रेस बृत्तमा तरंग उत्पन्न भएको छ ।
‘प्रचण्ड नेतृत्वको सरकारले स्थानीय तहको चुनाव गर्ने र हाम्रो पार्टी नेतृत्वको सरकारले प्रतिनिधि सभाको चुनाव गर्ने सहमति भएको हो’ बन्न लागेको भनिएको गठबन्धनका कारण सरकारको भविष्य के हुन्छ भन्ने लोकान्तरको प्रश्नमा महतले भने ।
चुनावमा वामपन्थी गठबन्धनको तयारी भएपछि प्रधानमन्त्री देउवाले निकटस्थहरुसंग छलफल गरेका छन् । एमालेसंग चुनावी तालमेलको घोषणा गर्न लागेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने या सरकारबाट अलग्गिने सम्मको चर्चा चलेको छ ।
*फाइल तस्वीर