
राष्ट्रिय सभाका १९ सिटको भागबन्डामा सहमति भएपछि सत्तारुढ चार वटै दल आन्तरिक छलफलमा जुटेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट लिने समझदारी गरेका थिए ।
यो समझदारीपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक भागबन्डा मिलाउन उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, डा. शेखर कोइराला र नेता रमेश लेखकसँग छलफल गरिरहेका छन् । धुम्बाराहीस्थित देउवा निवासमा आन्तरिक भागबन्डा मिलाएपछि सानेपामा ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर उम्मेदवार सिफारिस गर्ने तयारी कांग्रेसको छ ।
बिहान सत्ता गठबन्धनमा सहमति जुटेर ६ सिटको टुंगो लागेपछि उम्मेदवार तय गर्न माओवादी केन्द्र पनि पदाधिकारी बैठकमा जुटेको छ । माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी रहेको छ ।
त्यस्तै, सत्ता गठबन्धनसँग भएको सहमतिमा २ सिटमा चित्त नबुझाएको नेकपा एकीकृत समाजवादी पनि सचिवालयको बैठकमा छ । आफ्नो असन्तुष्टिको विषय र राष्ट्रिय सभामा उम्मेदवार सिफारिस गर्न नेकपा एसको बैठक पार्टी कार्यालयमा बसिरहेको हो ।
त्यस्तै एक सिट पाएको जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक पनि ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।
सत्तारुढ दलले १९ वटा सिटमा गठबन्धन दलबीच मिलेर उम्मेदवारी दिने सहमति भएपछि उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन/तीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई/दुई गरी ६ जना गरी १९ सिटका लागि निर्वाचन हुँदैछ ।
आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
सातवटै प्रदेशबाट खाली भएका सिटमा सम्बन्धित प्रदेशमा चुनाव हुन लागेको हो । चुनावमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाकका अध्यक्ष र उपाध्यक्ष मतदाता हुनेछन् ।
प्रदेशको प्रति सांसद मतभार ५३ र स्थानीय तहको १९ हुनेछ ।