१० साउन २०८३, आइतबार

निमित्त प्रमुखको भरमा लमजुङका अधिकांश सरकारी कार्यालय

पुस २२, २०८०
लमजुङ
निमित्त प्रमुखको भरमा लमजुङका अधिकांश सरकारी कार्यालय
फाइल फोटो

लमजुङमा आधादर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएका छन् ।

कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला मालपोत कार्यालय निमित्त प्रमुखकाभरमा चल्दै आएको हो ।

जिल्लामा तीन वर्षभन्दा बढीदेखि सरकारले दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा कार्यालय प्रमुख पद रिक्त हुँदै आएकाले कार्यसम्पादन र सेवा प्रवाहको स्तर सुधारमा समस्या हुने गरेको छ । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्राही ईश्वरराज सेढाईंले बताए ।

उनले प्रमुखको छिटोछरितो र सहजरुपमा सेवा हुन नसक्नाका साथै अन्य कर्मचारीले कार्यभार सम्हाल्दा सो कर्मचारीको ठाउँ खाली भएर कामको चापसमेत बढी हुने गरेको उल्लेख गरे । जिल्ला मालपोतको निमित्त प्रमुखमा ईश्वरकमल श्रेष्ठलाई तोकिएको छ । 

त्यस्तै कारागारमा कमलापति अधिकारी, पूर्वाधार विकास कार्यालयमा विवेक सिग्देल, डिभिजन वनमा सन्तोष खनाल, जिल्ला आयुर्वेदमा सावित्री न्यौपाने, भेटेरिनरीमा डा. सुनील न्यौपाने र जलस्रोतमा सागर भट्टराई निमित्त प्रमुखको जिम्मेवारीमा छन् । 

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्वीकृत दरबन्दी संरचनाअनुसार जनशक्ति पूर्ति हुन नसक्दा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख बनाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले भने, ‘दरबन्दीअनुसारको प्रमुख र अन्य जनशक्ति भएमा दैनिक सेवा प्रवाहमा सहज हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्