काठमाडौं, १७ असोज– नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता हुने चर्चा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच मंगलवार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको हो । भेटमा देउवाले एमाले र माओवादीबीच चुनावी तालमेल र पार्टी एकता हुन लागेको विषयबारे जिज्ञासा राखेको बुझिएको छ ।
प्रधानमन्त्री देउवाको निजी सचिवालय स्रोतका अनुसार देउवाले प्रचण्डलाई एमालेसँग एकता गर्ने विषय सत्य भए नभएको बारे सोधेका थिए । जवाफमा प्रचण्डले अहिले छलफल मात्रै चलिरहेको बताएका थिए ।
प्रधानमन्त्रीले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावको विषयमा पनि प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा प्रचण्डले एमालेसँग चुनावी तालमेल भएपनि आफूहरुले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने प्रतिक्रिया दिएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।