धादिङ, १७ असोज– धादिङ सदरमुकाम धादिङबेसीमा २२ जनामा डेंगुको प्रकोप देखिएपछि डेंगु नियन्त्रण अभियान चलाइने भएको छ ।
धादिङबेसीको जिल्ला अस्पताल परिसर र अन्य आसपासका क्षेत्रमा डेंगुको संक्रमण बढेपछि रोग नियन्त्रणको लागि अभियान चलाइन लागिएको जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए । उनका अनुसार जिल्ला अस्पताल धादिङमा उपचार गराउन आएकाहरुमध्ये हालसम्म २२ जनामा डेंगु रोग देखिएको छ । उनीहरुको जिल्ला अस्पताल धादिङ र काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
धादिङबेसीको जिल्ला अस्पताल परिसर र धादिङबेसी क्षेत्रमा डेंगु रोग सार्ने एडिस एनिप्टाई जातको संक्रमति पोथी लामखुट्टेको लार्भाहरु प्रशस्त भेटिएको उनको भनाइ छ ।
‘सोमबार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट दुईजना आउनुभएको छ । उहाँहरु आएसँगै हामीले सरोकारवालाहरुको बैठक राखेर आजबाट बजार क्षेत्रमा डेंगु नियन्त्रण अभियानसंचालन गर्ने निर्णय गरेका हौँ,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले लोकान्तरलाई भने, ‘खोजेर नष्ट गर भन्ने अभियान सहित डेंगु संक्रमित लामखुट्टे भएको क्षेत्रमा गएर रोग सार्ने लामखुट्टेको लार्भाहरु नष्ट गर्छौं ।’
मंगलवारदेखि धादिङबेसीको डेंगु प्रभावित क्षेत्रका २ हजार २ सय घरमा स्वस्थ्यकर्मीको टोली पुगेर मानिसहरुलाई सचेतना दिने र लामखुट्टेको बासस्थान नष्ट गरीने बरिष्ट जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । अभियानको लागि ४५ जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र टोल सुधार समितिका सदस्याहरु परिचालन गरिने छ ।
डेंगु के हो ?डेंगु भनेको एकप्रकारको भाइरस हो । एडिस एनिप्टाई जातको संक्रमति पोथी लामखुट्टेको टोकाइबाट डेंगको संक्रमण हुन्छ । डेंगु रोग लागेका व्यक्तिमा यस्ता लक्षण देखिन्छन्,
– अत्याधिक ज्वरो आउने ।
– टाउको दुख्ने ।
– आँखाको गेडीहरु दुख्ने ।
– मांसापेशी तथा जोर्नीहरु दुख्ने ।
– शरीरमा बिबिराहरु आउने ।
डेंगुको संक्रमणबाट बच्न यी कुरामा ध्यान दिनुस्– लामखुट्टेका लागि उचित वातवरण नबनाउने ।
– घर वरपरका खाल्डाखुल्डी पुर्ने ।
– घर बाहिर निस्कँदा शरीर ढाक्ने पुरा बाहुला भएको कपडा लगाउने ।
– लामखुट्टेले नटोक्ने क्रिमको प्रयोग गर्ने ।
– झुलको प्रयोग गर्ने ।
– घरमा बाल्टि तथा भाँडाहरुमा सारेको पानी छोपेर राख्ने ।
– गाडीका पुराना टायरहरु व्यवस्थापनमा ध्यान दिने ।
– डेंगु भाइरस भएको लामखुट्टे विहान र बेलुकाको समयमा सक्रिय हुने भएकाले विहान बेलुका घर बाहिर निस्कँदा विषेश सावधानी अपनाउने ।