
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यथास्थितिमा (रोक्का) राख्न भनेर दिएको निर्देशनविपरीत यातायात व्यवस्था विभागले लाइसेन्स नवीकरण गरिदिएको पाइएको छ ।
विदेशबाट ल्याएर नेपालीकरण गराइएका ८८५ लाइसेन्सलाई यथास्थितिमा रोक्का राख्न अख्तियारले २०७५ असार २२ गते यातायात व्यवस्था विभागलाई निर्देशन दिएको थियो ।
त्यतिबेला अख्तियारले गरेको छानबिनमा विदेशका ८८५ वटा लाइसेन्सलाई घुस खाएर नेपालीकरण गरेको पाइएको थियो । यातायात व्यवस्था कार्यालय बागमती सुकेधाराका तत्कालीन कार्यालय प्रमुख सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायब सुब्बा यादव पौडेलले ५० लाख ४ हजार ८५० रुपैयाँ घुस खाएर ८८५ वटा विदेशी लाइसेन्सलाई नेपालीकरण गरेको भन्दै अख्तियारले ती लाइसेन्सलाई यथास्थितिमा ब्लक गरी राख्न यातायात व्यवस्था विभागलाई लिखित निर्देशन नै दिएको थियो ।
तर, अहिले अख्तियारले रोक्का राखेको लाइसेन्स विभागले नवीकरण गरेको भेटिएको छ । त्यस्ता ८८५ मध्ये तनहुँका भानुप्रसाद रानाभाटको लाइसेन्स अख्तियारको निर्देशनबमोजिम विभागको डेटाबेस सिस्टममा ब्लक गरेर राखिएको थियो । तर, ब्लक गरिएकै अवस्थामा २०८० मंसिर ११ गते नवीकरण गरेको प्रमाण लोकान्तरले फेला पारेको छ ।