
अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंदेखि बुटवल आउन भनेर हिँडेका सुदीप ज्ञवाली दुई हप्तादेखि बेपत्ता छन् । पुस १२ गते काठमाडौंको धापासीबाट बुटवल घर आउँदै छु भनि हिँडेका ३५ वर्षीय ज्ञवाली अझै परिवारको सम्पर्कमा नआएको उनकी श्रीमती झरनाले बताइन् ।
ज्ञवालीले श्रीमती झरनालाई फोनगरी आफू घर आउन लागेको जानकारी गराएका थिए । तर, त्यसपछि उनी कहाँ गए भन्ने अत्तोपत्तो छैन ।
ज्ञवाली बेपत्ता भएपछि आफन्तले इलाका प्रहरी कार्यालय, बुटवल र प्रहरी प्रधान कार्यालय महाराजगञ्जमा खोजीगरी पाँउ भनी निवेदन दिएका छन् ।
बुटवल उपमहानगरपालिका—१२ मा निवासी ज्ञवाली कामको सिलसिलामा हाल काठमाडौं बस्दै आएका थिए । उनका श्रीमती र छोरा भने बुटवलमै बस्दै आएका छन । ‘१२ गते साँझ ७:१२ मा फोन गरेर हिँडे भन्नुभयो, त्यसपछि फोन लागेन’, श्रीमती झरनाले भनिन् ।
काठमाडौं बसपार्कमा बुझ् समेत बुटवलतर्फ आउने कुनै पनि बसमा टिकट नकाटेको पाइएको परिवारले जनाएको छ । ‘उहाँको परिवार, आफन्त र साथीभाइ सबैसँग राम्रो सम्बन्ध र व्यवहार थियो, घरमा कुनै झैझगडा समेत भएको थिएन, दिनहुँ छोरासँग फोनमा कुरा गरेर मात्र सुत्नुहुन्थ्यो, यतिका दिन कहाँ जानुभयो थाहै भएन,’ श्रीमती झरनाले दुखेसो पोखिन् ।
ज्ञवालीका ससुरा घनश्याम मरासिनीका अनुसार औषधि कम्पनीमा एमआरको रूपमा काम गर्दै आएका ज्ञवालीको प्रहरीले खोजतलास गर्ने क्रममा पुस १२ गते गैंडाकोटको शीलन्यास चोकमा मोबाइल लोकेशन देखाएको थियो ।
‘हामीले ज्वाईँ हराएको सूचना जताततै दियौँ कतिले उहाँजस्तै मान्छे देखेर फोन पनि गर्नुहुन्छ तर, हेर्न जाँदा अर्कै मान्छे हुन्छ, यसले अर्को तनाब थपिएको छ’, उनले भने ।