
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले एकीकरणकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छन् ।
'हामी नेपाली कहिल्यै कसैको अधीनमा नपरेको राष्ट्रका नागरिक हुनुमा गौरवान्वित हुन सकेका छौं । एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न हामी सफल भएका छौँ,' शुभकामना सन्देशमा भनिएको छ ।
उनले एकीकृत र अखण्ड नेपाल निर्माण तथा स्वाधीनता रक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर पूर्खाप्रति सम्मान प्रकट गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मुलुकलाई स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र भएको राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रो भएको उल्लेख गरेकी छन् ।