
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।
विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी हुन् । शुक्रवार उनी साङ्गीतिक प्रस्तुतिका लागि आँधीखोला महोत्सव स्याङजा पुग्दैछिन् । शनिवार उनले कैलाली पुगेर टिकापुर महोत्सवमा प्रस्तुति दिनेछिन् ।

पुस २९ गते आइतवारका लागि कैलालीकै अत्तरिया महोत्सवमा उनको प्रस्तुति तय छ । माघ १ गते बढैयाताल महोत्सव बर्दियामा यी गायिकाको प्रस्तुति रहनेछ । २ गते म्याग्दी, ३ गते पोखरा, ४ गते गुल्मी पुगेर उनले दर्शक झुमाउनेछिन् । ७ गते सिन्धुलीमा आयोजित महोत्सवमा उनको प्रस्तुति तय छ । ९ गते भोजपुर पुगेर उनले प्रस्तुति दिनेछिन् ।
अन्य महोत्सवबाट पनि प्रस्तुतिका लागि कुरा भइरहेको उनले बताएकी छिन् । पछिल्लो पुस्ताकी चर्चित गायिका रचनाका दर्जनौं गीत हिट छन् ।
उनी स्टुडियो र स्टेज दुवैमा खोजिने गायिकामा पर्छिन् ।